पास्टर अमित कार्थक

आराधना अभ्यास र सैद्धान्तिक शिक्षाका बिच अन्तरसम्बन्ध

आराधनाले परमेश्वरलाई अर्पण गरिएको श्रद्धापूर्ण भक्ति, प्रशंसा र उपासनामय सेवा तथा कार्यहरूलाई बुझाउँदछ (युहन्ना ४:२३-२४) । यसमा प्रेम, कृतज्ञता र ईश्वरप्रति अभिव्यक्त गर्ने समर्पणताका कुराहरू समावेश हुनुपर्दछ । इसाई आराधनामा भक्तिपूर्ण भजन-गीत, प्रार्थना, वचन प्रचार र प्रभुभोज र बप्तिस्माजस्ता पवित्र विधिहरू सामेल छन् (प्रेरित २:४१-४२)। सरल रूपमा भन्नुपर्दा, आराधना परमेश्वरको योग्यतालाई आदर गर्नु हो -यद्यपि आराधना त्यतिमा मात्र सीमित हुँदैन । आराधनामा मानिसको खाँचो र परमेश्वरको अनुग्रहमा सचेत प्रतिक्रिया जस्ता परमेश्वर केन्द्रित अवधारणाहरू र परमेश्वरबाट मिलाप र चङ्गाइजस्ता महत्त्वपूर्ण विषयहरू पनि सामेल हुन्छन् । वास्तवमा आराधना परमेश्वरको आह्वानको प्रतिक्रिया हो । एकातर्फ परमेश्वरले मानिसहरूलाई आशिष् दिन आह्वान गर्नुहुन्छ भने अर्कातर्फ मानिसहरू विश्वाससाथ उहाँको आह्वानलाई स्वीकार गर्दै उहाँको अघि आएको चाहनुहुन्छ ।

सिद्धान्तले आराधनालाई जस्तो बन्नुपर्ने हो त्यस्तै बन्नलाई आकार दिन्छ र यसको गरिमालाई अझ सशक्त बनाउँछ । सैद्धान्तिक ज्ञानले आराधना सेवाहरूको मुख्य उद्देश्य, सामग्री र संरचना निर्धारणमा ठूलो भूमिका खेलिरहेको हुन्छ । आराधनामा परमेश्‍वरको अघि जिम्मेवारसाथ कसरी प्रस्तुत हुने भनेर पनि  सिद्धान्तले नै निर्धारण गरिरहेको हुँदछ । आराधना समुदायको धार्मिक विश्वासको मूर्त अभिव्यक्ति हो (कलस्सी ३:१६)। सिद्धान्तले धार्मिक शिक्षा र धर्मशास्त्रीय सत्यतालाई समेटेको हुनुपर्दछ । सिद्धान्तहरूले आवश्यक पर्ने बाइबलीय शिक्षा र ईश्वरशास्त्रीय अवधारणाहरू व्यक्त गर्दछन् जसले परमेश्वर, मुक्ति र इसाई जीवनलाई मार्गदर्शन गर्दछन् । सिद्धान्तहरू परमेश्वर, वचन, मानिस, पाप, ख्रीष्ट, उद्धार, न्याय र स्वर्ग आदि हुन सक्छन् । आराधनाको सम्बन्धमा, सिद्धान्त आराधनामा गरिने अभ्यास, क्रियाकलापहरू, भाषाशैली आदिको मूल्याङ्कन र यसलाई पूर्ण रूपमा परिभाषित गर्ने प्रक्रियाहरू समावेश हुन्छ ।  अर्थात आराधनाको अभ्यासले हाम्रो सैद्धान्तिक दृष्टिकोण प्रतिविम्बित गर्छ । आराधनाको अभ्यास सधैँ धर्मशास्त्रीय सिद्धान्तहरूको अघि हुन्छ ।

हाम्रो आराधनाको भाषा शैलीहरूबाट नै सिद्धान्तहरूको निर्माण प्रक्रिया (ढाँचाहरू) सुरू हुँदछन् । यसैले आराधनाको अभ्यासलाई सैद्धान्तिक अध्ययनको निम्ति पूर्वसर्त मानिन्छ । वास्तवमा प्राथमिक सिद्धान्त चाहिँ आराधना अभ्यासमाथिको चिन्तन, मनन र व्याख्या हो भन्दा अत्युक्ति नहोला ।  साँचो भन्नुपर्दा आराधना नै धार्मिक सिद्धान्तको अभिव्यक्ति हो । एकातर्फ समुदायको विश्वास शिक्षाहरूले वा सिद्धान्तले आराधना गर्ने तरिकालाई आकार दिन्छ भने अर्कोतर्फ व्यक्तिको आराधना अभ्यास वा शैलीले उसले अवलम्बन गर्ने सिद्धान्तलाई व्यक्त गरिरहेको हुन्छ (रोमी १२:१-२) ।  कसैले भनेका छन, “मलाई व्यक्तिको आराधना शैली देखाइदेऊ, म उसको सैद्धान्तिक विश्वास देखाइदिन्छु ।”  आराधना अभ्यास र सिद्धान्त बिचको यो अन्तरसम्बन्धले मण्डली र विश्वासीहरूको  जीवनमा महत्त्वपूर्ण प्रभाव पार्दछ । यी दुवै इसाई विश्वासका आधारभूत स्तम्भहरू हुन् र यिनीहरू बीचको सम्बन्ध, विश्वासको अभ्यास र मार्गदर्शन गर्ने मूल सिद्धान्तहरू बुझ्नलाई आवश्यक हुन्छ । यो सम्बन्धको अध्ययन सिलसिलामा, आराधना र सिद्धान्तहरू इसाई पवित्र विधिहरूका सन्दर्भमा कसरी जोडिएका छन् भनेर विस्तृत रूपमा अन्वेषण गर्नुपर्ने आवश्यकता खड्किरहेको छ ।

हाम्रो आराधनालाई पनि समुदायको विश्वास र विभिन्न सम्प्रदायमा अभ्यास गरिने साम्प्रदाइक शिक्षाहरूले गहिरो रूपमा प्रभावित तुल्याइरहेको हुन्छ । विश्वासीहरूको आराधना गर्ने तरिकाले परमेश्वरको प्रकृति, उहाँका गुणहरू र मानवतासँगको उहाँको सम्बन्धको बुझाइलाई झल्काउँदछ (कलस्सी ३:१६) । विश्वासीहरू नियमित रूपमा आराधनामा संलग्न हुँदा, तिनीहरूको सैद्धान्तिक विश्वास र धर्मशास्त्रीय समझ बलियो हुन्छ । प्रार्थना, गीत र सेवाको विधिमार्फत मुख्य धर्मशास्त्रीय अवधारणाहरूको पुनरावृत्तिले आराधकहरूको दृष्टिकोण र हृदयको विचारहरूमा सैद्धान्तिक विश्वासको महत्त्वलाई अझ बलियो बनाउँछ ।  आराधनाद्वारा, विश्वासीहरू परमेश्वरका सन्तानको रूपमा परिचित हुन्छन्, ख्रीष्टद्वारा प्राप्त उद्धारको महत्त्वलाई थाहा गर्दछन् र बाइबलीय सिद्धान्तअनुसार जिउने बोलावट पाउँदछन् ।

आराधना र सिद्धान्त बिचको सम्बन्धले मण्डली समुदाय र यसका व्यक्तिगत सदस्यहरूको जीवनमा महत्त्वपूर्ण प्रभाव पारिरहेको हुँदछ । बाइबलीय सत्यतामा आधारित जीवन्त र स्वस्थ आराधनामय जीवनले विश्वासीहरूको आत्मिक जीवनमा आध्यात्मिक चेतना वृद्धि गराउँदछ र परमेश्वरको चरित्र र उद्देश्यको गहिरो समझलाई बढवा दिन्छ । बाइबलका शिक्षाहरूलाई सही रूपमा प्रतिविम्बित गर्ने आराधनाले विश्वासीहरूका बिचमा एक मजबुत एकताको भावना उत्पन्न गर्दछ, किनभने तिनीहरूले सामूहिक रूपमा आफ्नो साझा विश्वास व्यक्त गर्छन् । साथै आराधना र सिद्धान्त बिचको सम्बन्धविच्छेदले धर्मशास्त्रीय भ्रम, मनतातो आत्मिकिपन र सम्भावित रूपमा समुदायमा विभाजनसम्म ल्याउन सक्छ (हिब्रू १०२४-२५)।

इसाई विश्वासमा आराधना र सिद्धान्त बिचको अविभाज्य सम्बन्धले हाम्रो आराधना अभ्यासहरूलाई बाइबलीय सत्यतासँग पङ्क्तिबद्ध गर्ने महत्त्वलाई प्रकाश पार्दछ । आराधना इसाई समुदायको मूल विश्वासलाई मनाउने र मूर्त रूप दिने, धार्मिक विश्वासलाई सुदृढ पार्ने र आध्यात्मिक यात्रामा मार्गनिर्देशन गर्ने माध्यम बन्दछ । यो गहिरो सम्बन्धको पहिचान एक जीवन्त र फस्टाउँदै गरेको मण्डली समुदायलाई बढावा दिनको लागि महत्त्वपूर्ण हुन्छ जहाँ आराधना सबै सदस्यहरूको लागि एक परिवर्तनकारी र एकताबद्ध अनुभव बन्नजान्छ ।

प्रारम्भिक इसाई आराधना अभ्यासहरूले इसाई आराधनाको सेवामा एक आँखीझ्याल प्रदान गर्दछ जसले समकालीन आराधनालाई सुसूचित गर्न र समृद्ध बनाउन बहुमूल्य अन्तरदृष्टि प्रदान गर्दछ । प्रारम्भिक इसाई आराधनाका विशेषताहरू जाँचेर र हाम्रो समय र सान्दर्भमा प्रतिविम्बित गर्दा, हामी आराधनाको मूल तत्त्वहरूलाई अझ राम्रोसँग बुझ्न सक्छौँ र यसलाई आधुनिक इसाई समुदायको आवश्यकताहरू पूरा गर्न “एडप” गर्न सक्छौँ ।

 

आराधना अभ्यास र सैद्धान्तिक शिक्षाका बिच अन्तरसम्बन्ध